मन्त्रीद्वय गुप्ता र शर्माले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, ९ कात्तिक । नवनियुक्त मन्त्रीद्वय सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वय गौतम र गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री सुशीला कार्की, विघटित प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि मन्त्रीमा चार जनाको नाम सिफारिस गरेको थियो । मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको बारेमा विवाद आएपछि उनीहरुको शपथ रोकिएको हो ।