राजनीतिक दलले मुद्दा मामिलाभन्दा जनमतमा विश्वास गर्नुपर्छ, एमाले निर्वाचनमा जान तयार छः कर्ण थापा


काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता कर्ण थापाले आफूहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक दलहरुले मुद्दा मामिलाभन्दा पनि जनमतमा विश्वास गर्नुपर्ने भएकाले आफूहरु निर्वाचनमा जान तयार भएको बताएका हुन् । उनले

‘संसद् पुनर्स्थापनाको कुरा भनेको कानूनी र संवैधानिक कुरा हो । यो अदालतको विषय पनि हो । यसमा व्याख्या पनि होला । सर्वोच्च अदालतमा अनेक प्रकारका रिटहरु परिसकेका छन् । तर, हामी राजनीतिक पार्टी भएको हुनाले मुद्दा मामिलाभन्दा पनि जनताको जनमतलाई हामी विश्वास गर्छौं,’– उनले भने ।

साथै, अहिले नेपालको राजनीतिलाई गलत दिशा दिन खोजिएको पनि उनले बताए । जनताको मतबाट यसलाई सच्याउन सकिने उनले बताए । एमालेले निर्वाचनलाई पनि उत्तिकै प्राथमिकतामा राखेको उनको भनाइ छ । निर्वाचनकै माध्यमबाट प्रतिनिधिसभाको निरन्तरता हुनुपर्ने उनले बताए ।

आफूहरु निर्वाचनमा जानको लागि तयार रहेपनि वर्तमान सरकारमा भने त्यो सामर्थ्य र इच्छाशक्ति नदेखिएको उनको भनाइ छ । उनले भने, ‘हामी निर्वाचनमा जान तयार छौं । तर, अहिलेको सरकारसँग त्यो सामर्थ्य, इच्छाशक्ति, त्यसप्रकारको तयारीको स्थिति देखिँदैन ।’