निकोलस भुसालको आन्दोलनको निसानामा प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओली, एक लाख मान्छेले बालुवाटार र गुण्डू घेर्ने


काठमाडौं, ११ कात्तिक । आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउने डा.निकोलस भुसालले जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेहरुलाई कारबाहीको माग गर्दै आगमी कात्तिक १६ गतेदेखि आन्दोलन गर्न लागेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आफूहरुको आन्दोलनको माग जेन–जी आन्दोलनको हत्यारालाई कारबाही, २०४६ सालयताका सबै नेता र कार्मचारीहरुको सम्पत्ति छानविन, प्रदेशसभा, राष्ट्रिय सभा खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताए ।

‘अस्ती हाम्रो ७८ जना भाइबहिनीले ज्यान गुमाए नि । मुख्य माग भनेको हत्यारालाई कारबाही हुनैपर्यो । अर्को भ्रष्टाभारको विरुद्धमा थियो । २०४६ साल यताका सबै नेता र कर्मचारीको छानविन हुनैपर्छ । प्रदेशसभा र राष्ट्रिय सभा खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी गरी चारवटा माग राखेर १६ गतेको आन्दोलन हामी गर्दैछौं,’– उनले भने ।

सरकारले आफूहरुसँग संवाद गर्न नचाहेमा गत भदौ २३ र २४ गतेको जस्तै हालत हुने पनि उनले बताए । जेन–जी आन्दोलन सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन र २०८४ सालमा हुने निर्वाचनलाई ०८२ सालमा सार्नका लागि मात्रै नभएको उनले बताए । ‘अस्ती २३ र २४ गते जुन हालत भयो नि, अब पनि त्यो हालत नहोस् । किनभन्दाखेरी हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि आन्दोलन गरेको हो ? होइन नि त । २०८४ को चुनाव ०८२ मा सार्नका लागि आन्दोलन गरेको हो ?’ प्रश्न गर्दै उनले भने ।

आफूले प्रधानमन्त्री र गृहमन्त्री दुवैसँग कुरा गर्दाखेरी ‘हामी केही पनि गर्दैनौं, भ्रष्टाचारीलाई कारबाही पनि गर्न सक्दैनौं । यो चुनावी सरकार हो । चुनावमात्र्रै गर्ने’ भनेपछि आफूहरु आन्दोलनमा जान लागेको उनले बताए । जेन–जीहरुले हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई थुन, संविधान संशोधन गरेर प्रदेशसभा र राष्ट्रिय सभा खारेज गरेर प्रत्यक्ष कार्यकारीको चुनाव गराउ भनेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको भए पनि उनी त्यो म्याण्डेटविपरीत हिँडेको उनले बताए ।

आन्दोलनका लागि अहिले सातवटै प्रदेशमा कमिटी गठन, भेलालगायतका कामहरु भइरहेको पनि उनले बताए । यो आन्दोलन सहकारी पीडित, लघुवित्त पीडित, मिटरव्याज पिडितदेखि प्रत्यक्ष कार्यकारी चाहने सबै शक्तिको हुने उनले बताए । उनले आगामी फागुन २१ गते संसदीय निर्वाचन गर्न नदिने बताए । यदि देशमा निर्वाचन हुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको मात्रै हुने उनको भनाइ छ ।

डा.भुसालले आगामी कात्तिक १६ गतेको आन्दोलन प्रधानमन्त्री कार्की नेतृत्वका सरकार फाल्ने आन्दोलन हुने बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फालेको जसरी यो सरकार पनि फाल्ने उनको चेतावनी छ । सहकारी पीडित, लुघुवित्त पीडित, नर्सिङ, जेन–जीलगायत १ लाखभन्दा बढी मान्छे १६ गतेको आन्दोलनमा सडकमा आउने उनको दाबी छ । उक्त आन्दोलन सरकारको विरुद्ध बालुवाटार र एमाले अध्यक्ष ओलीविरुद्ध गुण्डुमा केन्द्रीत हुने उनले बताए ।

‘सरकारको विरुद्ध बालुवाटार पुग्छौं । गुण्डु्मा पनि पुग्छौं होला । गुण्डुमा पनि त्यस्तै हालत छ । दुईवटा लक्ष्य रहेको छ हाम्रो एउटा प्रधानमन्त्रीको कार्यालय, अर्को गुण्डु,’– उनले भने ।