संसदीय राजनीतिमा जाने हतारमा विप्लव, दल दर्ताका लागि आयोगमा निवेदन


काठमाडौं, ११ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेर निवेदन दिएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा नेताहरु आयोगमा पुगेर पार्टीको नाम ‘कम्युनिष्ट पार्टी नेपाल’ राख्न प्रस्ताव गर्दै दल दर्ताको निवेदन दिएका छन् ।

प्रवक्ता प्रकाण्डका अनुसार संसदीय राजनीतिमा सहभागी हुनका लागि दल दर्ता गर्न लागिएको हो । उनले नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित आफूहरु निर्वाचनमा जान लागेको बताए । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएको बताउँदै उनले नयाँ अभ्यासका लागि आफूहरु आएको दाबी गरे ।

विप्लव नेतृत्वको नेकपाले निरन्तररुपमा संसदीय व्यवस्थाको विरोध गर्दै आएको थियो । विप्लव नेतृत्वको नेकपाले संसदीय राजनीतिलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ को रुपमा चित्रण गर्दै आएको थियो । अन्ततः सोही पार्टी संसदीय राजनीतिमा हाम फाल्ने निर्णयमा पुगेको छ ।