एकीकृत समाजवादीसँगको एकता हतारमा गर्न हुँदैनः नारायणकाजी श्रेष्ठ


काठमाडौं, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) सँगको एकता प्रक्रियामा हतार गर्न नहुने धारणा राखेका छन् । पार्टी एकतामा हतार गरेको खण्डमा समग्र एकता पनि नहुने रसार्थक पुनर्गठनको स्थिति पनि हुने खतरा उनले औंल्याएका छन् ।

‘यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं,’– उनले भनेका छन् ।

नेता श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता रहेको बताएका छन् । तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरेअनुसारको रुपान्तरण र पुनर्गठनसहितको एकीकरणको रुपमा अघि बढाउन सकिएमात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुने उनको धारणा रहेको छ ।