एआईजी दानबहादुर कार्कीको सुझबुझ निर्णयले टर्यो ठूलो दुर्घटना
काठमाडौं, १४ कार्तिक । जेन-जी आन्दोलनले नागरिकको नजिकको पहरेदार नेपाल प्रहरी सबैभन्दा बढी प्रभावित छ । एकातिर पूर्वाधारमा ठूलो क्षति व्यहोरेको छ भने अर्कोतिर प्रहरी कर्मचारीको मनोबल पनि खस्किएको छ । यस्तो विषम परिस्थितिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले यी दुबै कामलाई सँगसँगै अगाडि बढाएका छन् ।
पुनर्निर्माणका लागि उनले समाजका सबै वर्गको सहयोग जुटाइरहेका छन् भने आफै फ्रन्टमा उत्रेर प्रहरी कर्मचारीलाई हौसला पनि दिइरहेका छन् । यसको उदाहरण हेर्ने हो भने जेनजी आन्दोलनलगत्तैको बाढी पहिरोमा उपत्यका प्रहरीको सक्रियतालाई हेर्न सकिन्छ । पुनर्निर्माणतर्फ पनि एआईजी कार्कीको समन्वयमा १७७ वटा प्रहरी कार्यालयहरुको पुःनिर्माण एवं पुनर्स्थापना गरी सेवा प्रवाह सुचारु भइसकेको प्रहरी तथ्यांकले बताउँछ ।
एआइजी कार्की भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट क्षति भएका प्रहरी भवन लगायतका अन्य स्रोत–साधनको पुनःनिर्माण एवं पुनःप्राप्तिका लागि अहोरात्र फिल्डमै खटिएका छन् । नयाँ सरकार गठन भएलगत्तै एआईजी कार्कीले प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र प्रहरी महानिरीक्षकलाई काठमाडौं उपत्यकाअन्तर्गतका क्षतिग्रस्त संरचनाको अनुगमन गराउनुका साथै बस्तुस्थितीका बारेमा नियमित ब्रिफिङ समेत गर्दै आएका छन् । उनको यस किसिमको सक्रियताले सरकारको ध्यान र प्राथमिकता प्रहरीको पुनःनिर्माणतर्फ केन्द्रित भएको हुँदा छोटो समयमै आवश्यक संरचना र स्रोत साधन पुनःनिर्माणतर्फ अगाडि बढेको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रीसहित उच्चस्तरीय टोली स्वयं प्रहरी युनिटमै पुगेर स्थलगत अनुगमन र गुनासो सुन्ने कार्यमा संलग्न हुँदा प्रहरी कर्मचारीको मनोबल उच्च बनेको छ ।
भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि १९ जना प्रदर्शनकारीको ज्यान गएपछि नेपाल प्रहरी व्यापक आलोचनाको केन्द्र बन्न पुगेको थियो । विशेषतः स्कुल ड्रेसमा रहेका विद्यार्थीको छातिमा गोली प्रहार भएको, अधिकांश मृतकको टाउको र छातिमै गोली लागेको, साथै नेपालको इतिहासमै पहिलोपटक राज्यको दमनबाट एकैदिन यति ठूलो संख्यामा नागरिकको मृत्यु भएपछि आम नागरिकमा प्रहरीप्रति तीव्र आक्रोश पैदा हुनु स्वभाविक थियो । त्यस घटनापश्चात प्रहरी नै सबैको निशानामा पर्न जाँदा भदौ २४ गते उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटका घटना हुनुका साथै ३ जना प्रहरी कर्मचारीको समेत विभत्स हत्या भएको थियो । प्रदर्शनकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण प्रहरीका भौतिक संरचना सहित हातहतियार, सवारी साधन, सञ्चार उपकरण, महत्वपूर्ण अभिलेख, खाद्यान्न र लत्ताकपडासम्म पूर्ण रूपमा नष्ट भएका थिए ।

संकटको यस घडीमा उत्पन्न सुरक्षा चुनौतीका बाबजुद एआइजी कार्की राजधानीसहित काठमाण्डौ उपत्यकाको शान्ति–सुरक्षा र अपराध नियन्त्रणसँगै प्रहरी कार्यालय तथा कर्मचारीको उचित व्यवस्थापनका लागि विशेष योजनासहित परिचालित भइरहेका छन् ।
एआईजी कार्कीले प्रहरी कार्यालयका लागि आवश्यक साधन/श्रोत जुटाउन सरकारी संयन्त्रसँग मात्र नभई गैरसरकारी संघसंस्था र स्थानीय समुदायसँग समेत निरन्तर समन्वय एवं सहकार्य गरिरहेका छन् । यस अवधिमा उपत्यका प्रहरी प्रमुख कार्कीको पहलमा भवनलगायतका श्रोत साधनहरु व्यवस्थापन गरि मातहतका प्रहरी कार्यालयलाई आवश्यकताअनुसार वितरण गरिएको छ ।
यस्तो कठिन परिस्थितिमा पनि एआईजी कार्कीको निरन्तर सक्रियताका कारण उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरुले केहि दिनमै प्रहरी सेवा प्रवाह सुचारु गर्न सक्षम भएका हुन् ।
बिहान ६ बजेदेखि राति १२ बजेसम्म मातहत प्रहरी कार्यालयको अनुगमनमा अहोरात्र खटिँदै आएका एआईजी कार्कीले ‘हाम्रो भवनमा मात्रै क्षति पुगेको हो भावनामा होइन, त्यसैले यस बिषम परिस्थितिमा पालमुनि बसेरै भए पनि उच्च भावनाले सेवा प्रवाह गर्नु हाम्रो धर्म हो’ भन्दै मातहतका कर्मचारीलाई उत्प्रेरित गर्दै आएका छन् ।
यसैको प्रतिफलस्वरुप भौतिक संरचनाको मात्र नभई कर्मचारीको मनोबलसम्म पुनःनिर्माण गर्ने उनको प्रतिबद्धताले संकटपछिको अवस्थामा पनि प्रहरी संगठनलाई उत्तिकै मजबुत र सक्रिय बनाउन महत्वपूर्ण योगदान पुर्याएको उच्च प्रहरी अधिकृत बताउँछन् ।

प्रहरी तथ्यांकअनुसार ‘यस अवधिमा एआईजी कार्कीले उपत्यकाका प्रहरी कार्यालयहरुमा करिब ५ करोड १० लाख बराबरको श्रोत साधन र १३८ वटा सवारी साधन जुटाइसकेका छन् भने १७७ वटा प्रहरी कार्यालयहरुको पुःनिर्माण एवं पुनर्स्थापना गरी सेवा प्रवाह सुचारु भईसकेको छ ।
जेनजी आन्दोलनको भोलिपल्ट यसरी कमाण्ड सम्हालेका थिए कार्कीले एआइजी कार्की जेनजी आन्दोलन हुँदाका बखत नेपाल प्रहरीको मानवस्रोत विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयमा डिआइजी ओम राना थिए भने कार्य विभागबाट एआईजी सिद्धीविक्रम शाहले भ्यालीको आन्दोलन हेरिरहेका थिए ।
आन्दोलन भड्केपछि संविधानसभाकालमा बानेश्वरमै कुशलतापूर्वक चार सय जुलुस झेलेका काबिल अफिसर कार्कीलाई भोलिपल्ट मेट्रो प्रमुख बनाएर पठाइएको थियो । तर त्यतिबेला परिस्थिति नियन्त्रण बाहिर गइसकेको थियो । तर पनि बाहिर गएको परिस्थितिलाई ट्रयाकमा ल्याउन र क्षति कम गराउन कार्कीले प्रतिकुल परिस्थितिमा भूमिका खेलेको प्रहरी अधिकारी बताउँछन् ।
घटनाक्रम हेर्दा पहिलो दिन अर्थात भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीले चलाएको गोली लागि १९ जनाको ज्यान गएको थियो । स्कुल ड्रेसमा रहेका बिधार्थीको छातीमा गोली लागी मृत्यु भएको भिडियो र रगत लतपतिएको जुत्ताको फोटो सामाजिक सञ्जालमा फैलिएपछि देशभर सरकार र प्रहरीप्रति आक्रोशको ज्वाला फैलिएको थियो ।

२३ गतेको घटनाको फोटा र भिडियोहरु सामाजिक सञ्जालमा फैलिएपछि गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरु र राप्रपा, रास्वपालगायतका पार्टीका सांसदहरुले सामुहिक राजीनामा दिएको, साथै देशैभरका प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सरकारमा रहेका पार्टीका स्थानीय नेता कार्यकर्ताले समेत सामाजिक सञ्जालबाट राजीनाको घोषणा गर्दै जेनजी आन्दोलनलाई समर्थन गरेका थिए ।
प्रहरी प्रधान कार्यालयकाअनुसार २३ गतेको घटनापछि आगामी परिस्थिति नियन्त्रणभन्दा बाहिर जाने लगभग पक्कापक्की भएको र “खुनको बदला खुन” भन्दै आन्दोलनलाई अझ हिंस्रक बनाउन धेरै कोशिस भइरहेको अवस्थामा यसलाई सहज रुपले व्यवस्थापन गर्न असम्भव देखिएपछि भदौ २४ गते बिहान प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत एआईजी कार्कीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) पठाइएको थियो ।
तर, जेनजीको नामबाट शुरु भएको आन्दोलन नेतृत्वविहिन भएको मौका छोपी स्वार्थ समूहले आफ्नो स्वार्थपूर्तिको लागि आन्दोलन भड्काउन र ठूलो मात्रामा भौतिक र मानवीय क्षति निम्त्याउन आन्दोलनलाई हिंसात्मक र ध्वंसात्मक रुपमा परिणत गरेको थियो । २३ गतेको घटनाको परिणामस्वरुप २४ गते देशभरका गाउँ, टोल, शहर जताततैबाट प्रदर्शनकारीहरु आन्दोलनमा उत्रिए अनि पहिलो दिनको आन्दोलन बानेश्वरमा मात्र सीमित रहेकोमा दोस्रो दिन काठमाडौं उपत्यकासहित देशभरका हरेक महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक केन्द्र, सरकारी कार्यालयहरु, राजनीतिक व्यक्ति तथा उच्च पदस्थ कर्मचारीका घरहरु जलाउने उद्देश्यले आन्दोलनकारीहरु सानो-सानो झुण्ड बनाई एकसाथ सबैतिर आक्रमण गर्दा प्रतिरक्षाका लागि प्रहरीहरुसमेत आफ्नो कार्यालय भन्दा बाहिर फिल्डमा खटिएको थिए ।
कार्यालय सुरक्षा बाहेकका सबै प्रहरीहरु फिल्डमा खटिएको मौका छोपी जेनजीको आवरणमा घुसपैठ गरेका अराजक ब्यक्तिहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीलाई निशाना बनाउँदा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्नुका साथै ३ जना प्रहरीको क्रुरतापूर्वक हत्या भएको थियो । २४ गते बिहानैदेखि नेपाली सेना र सशस्त्र प्रहरी कुनैपनि हालतमा बल प्रयोग नगर्ने भनि ब्याक हटिसकेका कारण नेपाल प्रहरी एक्लैले सार्बजनिक सम्पत्तिको सुरक्षा गर्न सक्दो कोसिस गरिरहेको थियो ।
झन् पछि झन उग्र हुँदै गएको नेतृत्वविहिन भिड क्रमश हुल र दंगामा परिणत भइसक्दा समेत नेपाल प्रहरीले संयमता अपनाएको उच्च अधिकारी बताउँछन् । ‘यदि २३ गते झै बल प्रयोग गरेको अवस्था हुन्थ्यो भने सयौँ मात्रै हजारौँ प्रदर्शनकारीको मृत्यु हुने निश्चित थियो,’ ती अधिकारी भन्छन् । यदि नेपाली सेना र सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सहयोग गरेको भए धेरै हदसम्म भौतिक र मानवीय क्षति कम हुने तर्क आमरुपमा अइरहेको छ । हुन पनि यो कुरालाई केही घटनाले बल दिन्छ । जस्तो २३ र २४ गतेको आन्दोलनमा नेपाली सेनाको भूमिका कस्तो रह्यो भन्ने कुराबारे छर्लङ्ग हुन सामाजिक सञ्जालमा भाइरल भएको थानकोट बृत्त अगाडिको भिडियो हेरे पुग्छ ।

जहाँ प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि भेला जम्मा भएर आक्रमण शुरु गर्दै छन्, त्यसै समयमा नेपाली सेनाको तीनवटा ट्रक फौजसहित आएपश्चात प्रदर्शनकारीहरु त्यहाँबाट भागि तितरबितर भएको देखिन्छ । तर बिडम्बना उक्त ट्रकहरु त्यहाँ नरोकी सरासर अगाडि बढेपछि प्रदर्शनकारीहरु पुन: भेला जम्मा भई थानकोट वृत्तमा आगजनी, लुटपाट र तोडफोड गरेका थिए ।
यदि २ मिनेट भए पनि नेपाली सेनाले ट्रक होल्ड गरिदिएर भिडलाई त्यहाँबाट हटाउने कोशिस गरेको हुन्थ्यो भने थानकोट प्रहरी कार्यालय सुरक्षित रहने थियो । यस्तो विषम परिस्थितिमा कमाण्ड सम्हालेका एआईजी कार्कीले सुझबुझपूर्ण निर्णय लिएर नागरिक र प्रहरी आमनेसामने हुन दिएका थिए । त्यसो नभएको भए सशस्त्र र सेना साइलेन्ट भइसकेको अवस्थामा धेरै हताहती हुने जोखिम थियो ।
०७२ सालमा संविधान जारी भएपश्चात संविधानको विरोध र भारतीय नाकाबन्दीको बिरोध गर्दै बानेश्वर संसद भवन अगाडि करिब चार सयभन्दा बढी जुलुस तथा प्रदर्शन भएका थिए । त्यस समयमा उनै दानबहादुर कार्की बानेश्वरको डिएसपी थिए, ४०० भन्दा बढी भिडलाई ब्यवस्थापन गर्दा समेत कुनै किसिमको मानवीय क्षति नभएपछि उत्कृष्ट ढंगले परिस्थितीलाई सम्हाल्न सफल भएको भन्दै उनको चौतर्फी प्रशंसा भएको थियो ।
पछि एसएसपी भएपछि काठमाडौं परिसरको जिम्मेवारी सम्हालिसकेका दानबहादुर कार्कीलाई समयमै अर्थात २३ गते नै आन्दोलनको सुरक्षाको जिम्मा दिएको भए जेनजी आन्दोलनका क्रममा जे जति क्षति हुन पुग्यो, त्यस्तो परिस्थिती श्रृजना हुँदैनथ्यो भन्दै चर्चा परिचर्चा हुने गरेको छ ।
दानबहादुर कार्की उनै प्रहरी अधिकृत हुन जसले काठमाडौं प्रहरी परिसर प्रमुख हुँदा चर्चित भुटानी शरणार्थी प्रकरणलाई ५७ दिनसम्म अनुसन्धान गरी टुंगोमा पुर्याउँदै ३३ जनाबिरुद्ध २८ करोड ८१ लाख रुपैयाँ मागदाबी सहित काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । त्यसपछि उनको ६ महिनामै सरुवा गरिएको थियो ।




प्रतिक्रिया