घनश्यामसँग प्रचण्डको आज पनि छलफल


काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता घोषणापछि आज एकता राष्ट्रिय सम्मेलन हुँदैछ । त्यसअघि एकतामा नै सामेल हुनको लागि प्रचण्डले घनश्यामसँग छलफल गरेका हुन् ।

प्रचण्डको निवासमा भएको छलफलमा घनश्यामलाई वामपन्थी एकताको प्रस्थानविन्दुको रुपमा रहेको यो पार्टी एकतालाई सघाउन प्रस्ताव राखेका थिए । तर, घनश्यामले पार्टी पूनर्गठनमा लाग्ने भनेको बताईएको छ । घनश्याम समूहले पनि छुट्टै पत्रकार सम्मेलन गरेर कसरी अघि बढ्ने भनेर आफ्नो धारणा सार्वजनिक गरिरहेको छ ।

यसअघि माओवादीबाट अलग भएका जनार्दन शर्माले पनि एकता बहिष्कार गरेका छन् । उनले माओवादी त्याग गरेर अब प्रगतिशील अभियान नेपाल चलाउने घोषणा गरेका छन् । जनार्दनलाई राम कार्कीले साथ दिएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि आजै प्रचण्डसँग छलफल गरेका छन् ।

हिजोमात्रै उनले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । खनालले आफूले मित्रको नाताले र पत्नी बिरामी हुँदा देखाएको सद्भावको कारण धन्यवाद दिन नेताहरुलाई भेटेको भनेका छन् ।