शेखर कोइरालाले सक्रियता बढाए, आफूनिकट केन्द्रीय सदस्यहरु र जिल्ला सभापतिहरुसँग छलफल


काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सक्रियता बढाएका छन् । पार्टीको १५औं महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र गगन थापा समूहबीच कुरा नमिल्दा शेखरले सक्रियता बढाएका हुन् ।

उनले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग आज छलफल गरेका छन् । कोइरालाको विशालनगरमा रहेको सम्पर्क कार्यालयमा छलफल भएको हो ।

हिजो संस्थापन पक्षधरहरुले बत्तिसपुतलीमा छुट्टै भेला आयोजना गरेका थिए । महामन्त्री गगन थापाले पार्टीको १५औं महाविवेशन आगामी पुष १६ गतेबाट सुरु गर्नेगरि प्रस्ताव गरेका छन् ।

उता, शेरबहादुर देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले भने ०८३ को बैशाख अन्तिममा गर्नेगरि अर्को मिति प्रस्ताव गरेका छन् ।