काठमाडौं, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २३ गतेको जेन-जी आन्दोलनमा तत्कालिन सरकारले चरम दमन गरेको र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्या गरेपछि जनस्तरबाट प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको दाबी गरेको छ ।
आजबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ । आन्दोलन सफल हुनुमा जेनजी पुस्ताको साथमा अन्य पुस्ताले पनि हातेमालो गर्नु रहेको रास्वपाको बुझाई छ ।
भदौ २४ गतेको विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडिओबाट खुलिसकेको उसको दाबी छ । प्रतिवेदनमा भनिएको छ,‘सार्वजनिक भएका केही तथ्यले भदौ २४ गतेको घट्ना योजनावद् हो कि भन्ने आशंकालाई पनि बढाएको छ । दुवै दिनका घट्नाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक छ । हामी अत्यन्तै प्रष्ट रुपमा भन्छौं–२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेको घट्ना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ । त्यो कारबाही चाहीँ २३ गते नरसंहार गर्नेबाट हुनुपर्छ ।’





प्रतिक्रिया