काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका जनार्दन शर्मा यतिवेला बलियो कम्युनिष्ट पार्टी बनाउनेगरि सक्रिय भएका छन् । हिजोमात्रै उनले बाबुराम भट्टराईले बोलाएको छलफलमा भाग लिए ।
बाबुरामले ‘बलियो वैकल्पिक शक्ति’ निर्माण गर्ने भन्दै हिजो जनार्दन शर्मा, रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा जनार्दननिकट सुदन किरातीले पनि भाग लिएका थिए । आज विहान भने जनार्दन नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न हरिसिद्धी पुगेका थिए ।
सो भेटमा नेकपा (एकीकृत समाजवादी) पूनर्गठनको घोषणा गरेका घनश्याम भुसालपनि सहभागी थिए । विप्लव, जनार्दन र घनश्यामले आज संयुक्त अपिल जारी गर्ने भनिएको छ। तर, जनार्दन शर्मा भने यतिवेला एमाले नेतृत्वसँग निरन्तर सम्पर्क र सम्वादमा रहेको बताईन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नै जनार्दनलाई एमालेमा भित्र्याउनेगरि प्रस्ताव पठाएको उच्चस्रोतको दाबी छ । योबीचमा माओवादीले एकीकृत समाजवादीसहितका विभिन्न १० दलसँग एकता घोषणा गर्दा जनार्दनले उक्त एकता प्रक्रियालाई नै बहिष्कार गरेका थिए । जनार्दन समूह एकता प्रक्रियामा सामेल नभएपछि माओवादी आन्दोलन नै अघि बढाउने चर्चा थियो ।
तर, जनार्दनले पत्रकार सममेलन गरेर प्रगतिशील अभियान चलाउने घोषणा गरे । उनलाई राम कार्की र अञ्जना बिशंखेले मात्रै साथ दिए । त्यसयता उनी विप्लव, घनश्याम र रास्वपाका नेताहरुसँगपनि छलफलमा छन् । त्यसको अलावा उनी एमाले नेतृत्वसँग पनि नियमित सम्पर्कमा रहेको बताईन्छ ।
एमालेनिकट उच्च स्रोतको दाबी छ,‘जनार्दनजीसँग हाम्रो अध्यक्ष सम्वादमा नै हुनुहुन्छ । उहाँलाई एमालेमा आउन प्रस्ताव गरिएको छ । त्यसको सकारात्मक पहल भएको छ । एक÷दुई दिनभित्र सबै थाहा हुन्छ ।’ file photo




प्रतिक्रिया