ओलीले मदन भण्डारीको अपमान गरेको प्रचण्डको आरोप, विद्याको पार्टी सदस्यताको विषय उठाए


काठमाडौं, २६ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले नेतृत्वले मदन भण्डारीको अपमान र बदनाम गराएको आरोप लगाएका छ् । भीम रावललाई नेकपामा स्वागत गर्न आज (बुधबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई अपहेलित, बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ, म कमरेड मदन भण्डारीप्रति सम्मान व्यक्त गर्न चाहन्छु, अहिले एमाले बिल्कुल त्यो लाइनबाट अर्को लाइनमा गएर, पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा ठूलो अपमान अरु केही हुनसक्छ ?’

सो क्रममा दाहालले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने भन्दै आलोचना गरे । उनले एमालेभित्रका इमानदार नेता तथा कार्यकर्तालाई पनि यही नेकपामा गोलबद्ध हुन अपिल गरे । दाहालले भने,‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन, एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, यो एकीकरण प्रक्रियामा सबै सामेल होऔं।’

दाहालले आफूहरुले विभिन्न घटक जोडेर विशाल कम्युनिष्ट पार्टी बनाएको भन्दै यो कुनै रणनीतिक उद्देश्यले एकता नभएको दाबी गरे । उनले यो चुनावी जित्नको लागि मात्रै एकता नभएर राष्ट्र बचाउनको लागि चालिएको सुविचारित कदम भएको बताए ।