सुदन गुरुङ ड्यासिङ गृहमन्त्रीको खोजीमा, ओमप्रकाशलाई कानून मन्त्रालयमा जान सुझाव


काठमाडौं, २७ कार्तिक । हामी नेपालीका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि फेरि प्रश्न उठाएका छन् । उनले गृहमन्त्री अर्याल अत्यन्तै कमजोर देखिएको टिप्पणी गरे । आज विहान काठमाडौंको लैनचौरमा नेपाल स्काउटको पसिरमा बनेका अस्थायी संरचना महानगरले भत्काएको थियो । सो क्रममा उनीपनि त्यहाँ उपस्थित् थिए । पत्रकारहरुसँगको कुराकानीमा उनले गृहमन्त्रीले नसक्ने हो भने कानून मन्त्रालयमा पठाउन सकिने धारणा राखेका हुन् ।

उनले जाँचबुझ आयोगले रास्वपाका सभापति रवि लामिछानेलाई ८ घण्टा बयान लिएकोमा अब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले १२ घण्टा थपेर बयान लिनुपर्ने सुझाव दिए । उनले भने,‘गृहमन्त्री कमजोर देखिनुभयो । रवि लामिछानेलाई जसरी ८ घण्टा प्रश्न सोधियो । अब केपी ओलीलाई अर्को १२ घण्टा थप्नुपर्यो ।’

उनले अहिलेको सरकार जनताले बनाएको सरकार दाबी गरे । उनले भने,‘जनताले बनाएको सरकार हो । सबै मन्त्रालयले एकदम राम्रो काम भएको छ । गृह मन्त्रालय कमजोर । जेन–जीको लागि सबसे महत्वपूर्ण गृह मन्त्रालय हो, आन्दोलनको मर्म बुझ्ने मन्त्रालय गृह हो । तर, काम स्लो भइरहेको छ । कसैलाई मन्त्री बनाउन लडेको होईन । सक्षम व्यक्ति राखेर काम होस भनेर । गृहमन्त्रालय अलिक कमजोर नै देखिएको छ ।’

आफूले यसअघिपनि गृहमन्त्रीको राजीनामा मागिसकेकोले अझै काम गरे स्वागत गर्ने उनको भनाई छ । उनले भने,‘काम गरे मलगायत सबै जना फूलमाला, धन्यवाद दिन्छौं । मिठाई खुवाउँछौं । जनताको मन जित्नुपर्यो । काम नगर्दा आवाज उठाउने नै भयौं । काम गर्न सक्नुहुन्छ भने काम गर्नुहोस । नसक्ने हो भने बरु उहाँलाई कानून मन्त्रालयमा राम्रो हुनुहुहन्छ । ड्यासिङ गृहमन्त्री खोजेर ल्याईदिनुपर्यो । सक्छु भन्ने मान्छे ल्याउनुपर्छ ।’ उनले गृहमन्त्रीले अब काम पनि नगर्ने अनि राजीनामा पनि नदिने हो भने आफूहरुले विकल्प खोज्ने चेतावनी दिए ।