जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिन निर्देशन गरेकी छिन् ।

प्रधानमन्त्री कर्कीले सम्पूर्ण राष्‍ट्रसेवक कर्मचारीहरूले जेन्जी आन्दोलनको भावना र मर्मबमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकाङ्क्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको पनि उल्लेख गरिन् ।

सम्माननीय प्रधानमन्त्रीको सम्बोधन

नेपाल सरकारका मुख्य सचिव, सल्लाहकारहरू, सचिवहरू तथा विशिष्‍ट श्रेणीका पदाधिकारी तथा कर्मचारीहरू एवम् उपस्थित सम्पूर्ण कर्मचारीहरू,

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्‍चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत भएका विषयहरूका सम्बन्धमा निकायगत छलफल भयो।

– चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म यस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएकोले चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ-आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता र तीव्रताका साथ अगाडि बढाउनुपर्ने अवस्था देखिएको छ।

-संवत् 2082 भदौ 23 र २४ गते जेन्‍जी आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्‍न गर्नुपर्ने कतिपय काम कारवाहीहरूसमेत प्रभावित भएको देखिन्छ।यस सन्दर्भमा सम्पूर्ण राष्‍ट्रसेवक कर्मचारीहरूले जेन्जी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकाङ्क्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देख्दछु।

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूले चालु आर्थिक वर्ष 2082/83 को स्वीकृत वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिन निर्देशन गर्दछु।

– जेन्‍जी आन्दोलनको सन्दर्भमा भएको तोडफोड र आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय भवनमा भएको क्षति र अन्य भौतिकलगायत सम्पूर्ण क्षतिको विवरण यथाशीघ्र अद्यावधिक गर्ने र अन्तर्गतका निकायहरूमा समेत भएको सम्पूर्ण क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गर्न निर्देशन गर्दछु।

– विद्युतीय खरिद प्रणाली (e-GP System) सार्वजनिक निकायको खरिद कार्यसँग जोडिएको संवदेनशील विषय भएकोले उक्त प्रणालीको Server स्तरोन्‍नतिका लागि आवश्यक पर्ने IT Equipment खरिद गर्ने कार्य निर्धारित समयमै सम्पन्‍न गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ।

-यस कार्यालय र अन्तर्गत निकायहरूबाट अर्थ मन्त्रालयमा राय माग भएका विषयमा आवश्यक सहजीकरण गरी समयमै राय उपलब्ध गराउनेसम्बन्धी आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन गर्दछु।

-Financial Action Task Force (FATF) को ग्रे लिष्‍टबाट नेपाललाई बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य सम्बद्ध निकायहरूबाट सम्पादन भएका काम कार्यवाहीहरूको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्नुपर्ने देख्दछु।

-सुशासनयुक्त र भ्रष्‍टाचारमुक्त राष्‍ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको सन्दर्भमा सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाही निष्‍पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए/नभएको सूक्ष्म निगरानी तथा अनुगमन गर्न राष्‍ट्रिय सतर्कता केन्द्रले थप पहल गर्न निर्देशन गर्दछु।

-अन्तमा सम्पूर्ण राष्‍ट्रसेवक कर्मचारीहरूले तोकिएको जिम्मेवारी र कर्तव्य पूरा गर्नु हुनेछ भन्‍ने विश्‍वास लिएको छु। यस चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्पादन गर्नुपर्ने कार्यहरूलाई उच्च प्राथमिकता दिई निर्धारित समयमा तोकिएको लक्ष्य हासिल गर्नेगरी जिम्मेवार पदाधिकारीहरूले आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन गर्दछु।साथै यस कार्यक्रमसँग सम्बद्ध सबैलाई धन्यवाद दिँदै मेरो भनाइ अन्त गर्दछु र कार्यक्रम समापन भएको जानकारी गराउँदछु। धन्यवाद।