काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेसकी नेतृ निमा गिरीले निर्वाचन अघि महाधिवेशन गर्न नसके पार्टी घेराबन्दीमा पर्ने बताएकी छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न नसक्ने बताउँदै उनले तत्काल विशेष महाधिवेशनको तालिका सार्वजनिक गरेर अघि बढ्न नसके पार्टी चोतर्फी घेराबन्दीमा पर्ने जनाएकी हुन् ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले विधानले व्यवस्था गरे अनुसार विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर निर्वाचनमा सहभागी भएर पार्टी र देशलाई बचाउनुपर्नेमा जोड दिईन् ।
उनले भनिन्, ‘कांग्रेस नेतृत्वले चुनावपछि महाधिवेशन गर्ने निर्णय गरे पार्टी घेराबन्दीमा पर्छ । अहिले महाधिवेशनलाई डेढ वर्षपछि सार्ने तयारी भइरहेकाले कुनैपनि बाहानामा महाधिवेशन चुनावपछि सार्ने प्रयास गरे देशभरबाट महाधिवेशन प्रतिनिधि, महिला, युवाहरु आएर पार्टी केन्द्रीय कार्यालय घेराउ पर्छ । अहिले केन्द्रीय समितिको निर्णयलाई जनताले प्रतिक्षा गरिरहेकाले ५४ प्रतिशत महाधिवेशनको आवाजलाई दबाउन सक्दैन् ।’
महाधिवेशनले पार्टी भित्र फुट ल्याउन नभई युवापुस्तामा उत्साह ल्याउन, निर्वाचनमा पार्टी नेतृत्वमा आउने सम्भावना रहने र जनतामा जानसमेत सहज हुने उनको भनाई छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगर्ने महाधिवेशन प्रतिनिधिले समेत महाधिवेशनकै पक्षमा रहेको दाबी गर्दै उनले हस्ताक्षर गर्न छुटेकाहरुले महाधिवेनको पक्षमा आफूहरुको भिन्न मत नरहेको बताउन थालेको जानकारी दिइन् ।




प्रतिक्रिया