मन्त्रीद्वय खरेल र गौतमले बुझाएनन् सम्पत्ति विवरण


काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा सहभागी ८ मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कूल १० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ८ जना मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको बताइएको छ । दुई जना मन्त्रीले भने सम्पत्ति विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।

गत भदौ २७ गते जेन–जी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् । प्रधानमन्त्री कार्कीले भदौ ३० गते पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले खनाल, अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेको आज ६१ दिन भएको छ । यी मध्ये गृहमन्त्री अर्याल, अर्थमन्त्री खनाल र ऊर्जा मन्त्री घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

त्यस्तै दोस्रो चरणमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा अनिलकुमार सिन्हा, महावीर पुन, डा।मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिईन् । यीमध्ये सञ्चारमन्त्री बनेका खरेलले सम्पत्ति विवरण बुझाएका छैनन् ।

गत कातिक ९ गते तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी प्रधानमन्त्री कार्कीले पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतम, बब्लु गुप्ता मन्त्री नियुक्त गरेकी थिईन् । स्वास्थ्यमन्त्री शर्माले सम्पत्ति विवरण बुझाएकी छैनन् ।