प्रचण्ड–माधवको एकतालाई लिएर बादलको टिप्पणी : अस्तित्व रक्षाको लाग १० कोठे टहरा बनाए


काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले प्रचण्ड र माधव नेपालले बनाएको नेपाली कम्युनिस्ट पार्टीलाई चुनाव जित्नको लागि बनाएको टहराको संज्ञा दिएका छन् । आज (शनिबार) चितवनमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएका हुन् । अलग अलग कोठामा बसिरहेका थिए। कोठाले उनीहरूको अस्तित्व धानिने भएन। त्यसकारण आफ्नो अस्तित्व रक्षाका लागि दस कोठे टहरा बनाए। अस्तित्व बँच्छ कि भन्ने उहाँहरूको हिसाबकिताब छ ।’

उपाध्यक्ष बादलले पनि अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिलझैं एमालेमा नै फर्कनको लागि छोडेर गएकाहरुलाई अपिल गरे । उनले माधव नेपालको राजनीतिक ओरालोतर्फ लागेको बताए । बादल एमालेले आज आयोजना गरेको जनप्रदर्शनमा समेत सहभागी थिए । file photo