काठमाडौं, कार्तिक ३० । नेपाली कांग्रेसका नेता नारायण खड्काले निर्वाचन अगाडि कुनैपनि प्रकारको महाधिवेशन गर्न नहुने बताएका छन् । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको समय धेरै नजिक आइसकेको र अहिले पार्टीभित्र अधिवेशन, महाधिवेशनको विषयमा अल्झिदा निर्वाचनमा पार्टीलाई क्षति पुग्ने भएकाले विशेष र नियमित कुनैपनि महाधिवेशन नगरी पार्टी निर्वाचन केन्द्रित हुनुपर्ने उनको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बौल्दै उनले निर्वाचनअघि महाधिवेशन गर्दा वडादेखि केन्द्रसम्मको प्रक्रिया पुरा गर्न समय लाग्ने र महाविधेशनको नतिजाले समेत निर्वाचनलाई असर पु¥याउन सक्ने भएकाले अहिले पार्टीले निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कुनैपनि पार्टीको एउटामात्रै अन्तिम लक्ष्य भनेको सरकार बनाउनु हो । सरकारमा गएर जनतासँग गरेका बाचा पुरा गर्नुहो । जनतासँग गरेका बाचा पुरा भए–भएनन् भन्ने मूल्याङ्कन गरेर पुनः जनतामा जानु हो । सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनमा सहभागी हुन अब समय धेरै छोटो रहेकाले पुस र माघ महिनाभित्रै उम्मेदवार छान्न, खर्चको व्यवस्थापनलगायतका अत्यावश्यक काम सम्पन्न गर्न महाधिवेशनको अडान छोड्नुपर्छ । अहिले पार्टीको नेतृत्व परिवर्तनभन्दा देशको निर्वाचन ठूलो विषय भएकाले महाधिवेशनको पक्षमा रहेकाहरु नेतृत्व लिन पाए हुन्थ्यो भन्ने मानसिकताबाट बाहिर निस्केर पार्टीलाई एकतावद्ध बनाएर निर्वाचनमा जानुको विकल्प छैन् । निर्वाचनभन्दा बाहिर पार्टी जान सक्दैन । एकताको संदेशसहित पार्टी निर्वाचनमा जानुपर्छ ।’
देशको समस्या समाधानको लागि पार्टीले निकासको भूमिका निभाउँदै चुनावभन्दा बाहिर गएर महाधिवेशनको पछि लाग्न नहुने उनको भनाई छ । तोकिएकै समयमा चुनाव हुन नसके युवाहरु भदौ २४ गतेकै अवस्थामा सडकमा उत्रिन तयार रहेको बताउँदै उनले राष्ट्रको परिस्थितिअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । नेता खड्काले तोकिएकै समयमा निर्वाचन हुन नसके संविधान संकटमा पर्ने भएकाले संविधानको रक्षाका लागि पार्टी निर्वाचन केन्द्रित हुनुपर्ने बताए ।




प्रतिक्रिया