यस्तै ताल हो भने जेन-जी आन्दोलनको लक्ष्य तुहिन्छ : शिक्षाममन्त्री


काठमाडौं, मंसिर १ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजीले जेनजी आन्दोलन तुहिन सक्ने बताएका छन् । नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको बताउँदै उनले यस्तै हो भने पुारन जाली फटाहाको शासन फेरी फर्कने बताएका हुन् ।

‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा र यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ ।’ आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली बन्न सकिने जनाउँदै उनले पुरानै पापी भ्रष्टाचारी फेरि निर्वाचित भएर आए अहिलेका राम्रा काम सबै उल्ट्याउन सक्ने चिन्ता व्यक्त गरेका छन।

‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ ,’ उनले थप लेखेका छन्, ‘अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उलट्याउँछन ।’