व्यवसायी मीनबहादुर गुरुङ उत्कृष्ट करदाता, सरकारले गर्यो सम्मान


काठमाडौं, १ मंसिरर । कर दिवसको अवसरमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । आज (सोमबार) आयोजित कार्यक्रममा सरकारले गुरुङसहित उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबारतर्फ भाटभटेनी सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको छ । उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका गुरुङले भाटभटेनीले कमाउने मात्रै नभएर दान पनि गर्ने बताए । हामीहरुले तिरेकै करबाट देशको विकास हुने भन्दै उनले यसले सबैलाई फाइदा पुग्ने धारणा राखे ।

‘जति सक्छौँ तिरौँ भन्ने लाग्छ र हामीले तिरेको करबाटै देश बन्ने हो । आखिर घुमेर त्यसको फाइदा हामीलाई नै हुने हो । म कोहीबाट लिन्नँ, दिन्छुमात्रै । भाटभटेनीले कमाउँदैन यसले दान गर्छ,’– उनले भने ।