एमाले महासचिवको दाबी : हामी सङ्कटसँग भाग्दैनौं, संकटसँग जुध्न सक्षम छौं


काठमाडौं, १ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक सङ्कटसँग जुध्न सक्षम पार्टी भएको दाबी गरेका छन् । उनले एमालेलाई थप सुदृढ बनाउन आवश्यक रहेको बतउँदै यस्तो बताएका हुन् । हिजो (आइतबार) दैलेखको दुल्लूमा जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई ‘राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’का रूपमा चित्रण गरे । उनले भने–‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो । हामी सङ्कटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपिल गरे ।