केपी ओलीलाई सिंहदरबारमा बोलाएरै बयान लिन्छौं: जाँचबुझ आयोगका अध्यक्ष कार्की


काठमाडौं, १ मंसिर । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने भएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले छिट्टै तत्कालिन प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा बोलाएर बयान लिने बताएका हुन् । आज राति प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका छन् ।

उनले तत्कालिन प्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई पनि बयान लिने भनेका छन् । उनले अनुसन्धानमा दोषी देखिएकाहरुलाई कारबाहीको सिफारिशसमेत गरिने बताए ।

यस्तै, उनले शेरबहादुर देउवा, केपी ओली, महेश बस्नेतलगायतका नेता, उद्योगपतिहरुको घर जलाउनेहरुलाई पनि कारबाही हुने भन्दै त्यसको लागि अनिले धमाधम अनुसन्धानको काम भइरहेको खुलाए । उनले भने, ‘अनुसन्धानको काम धमाधम भइरहेको छ । एक महिना ८ दिन बाँकी छ, समयभित्रै अनुसन्धान सकेर प्रतिवेदन । सिंहदरबारमा बोलाएर बयान लिन्छु ।’