पशुपतिमा आज नागमणि हेर्न पाइने !


काठमाडौं, मंसिर २ । आज पशुपतिनाथको भण्डारमा रहेको प्राचिन बहुमूल्य नागमणि, मुकुट, कवज एक मुखे रुद्राक्ष र दाहिने शङ्खको दर्शन गर्न पाइने भएको छ । आज बिहान १० बजेदेखि ११ः३० बजेसम्म पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री प्रदर्शन गरिँदै छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

यसैगरी, मार्गशीर्ष कृष्ण (आमावास्या) औँसीका दिन अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको कोषले जनाएको छ । यसवर्ष पर्सी मंसिर ४ गते बिहीबार बिहान ९ बजेदेखि ११ः४५ बजेसम्म सुरक्षा निकायको सहयोगमा अब एक वर्षका लागि सुरक्षितसाथ राख्दैछौ भनेर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन भण्डारको तेस्रो तलामा राख्ने गरिन्छ । राख्नुअघि पशुपतिनाथमा बाला चतुर्दशीको मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।