प्रतिगमनलाई सच्याउने एकमात्र उपाय संसद् पुनर्स्थापना होः उपाध्यक्ष पौडेल


काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिगमनलाई सच्याउने एकमात्र उपाय संसद् पुनर्स्थापना रहेको बताएका छन् ।

आज (मंगलबार) च्यासलमा जारी विघटित एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष पौडेलले भदौ २३ र २४ गतेको घटनालाई देखाएर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतिर धकेल्ने काम भएको बताए । संसद् विघटन र सदनभन्दा बाहिरबाट गठन गरिएको सरकार प्रतिगमनको सूचक रहेको उनको भनाइ छ ।

साथै, उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले एमाले र त्यसको नेतृत्वमाथि प्रहार गरिरहेको पन िबताए । उनले सरकारको प्रहारलाई एक भएर सामना गर्नुपर्ने धारणा राखे । ‘एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई प्रहार गर्न सरकार उद्दत छ । यसलाई हामीले एक भएर सामना गर्नु पर्दछ,’– उपाध्यक्ष पौडेलले भने ।

उनले एमालेको भूमिकामा नै देशको भविष्य निहित रहेको दाबी गर्दैै संसद् पुनर्स्थापना गरेर प्रतिगमन सच्याउनु आजको आवश्यकता भएको बताए ।