दुर्गा प्रसाईँको गिरफ्तारीबारे राप्रपाको टिप्पणीः ‘सरकारले तानाशाही प्रवृत्ति देखायो’


काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता मोह श्रेष्ठले आज वक्तव्य जारी गर्दै प्रसाईँलाई मध्यरातमा पक्राउ गरिनु अमानवीय, निन्दनीय र खेदजनक रहेको बताएका हुन् ।

सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा लागेको राप्रपाको आरोप छ ।

‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ,’– राप्रपाले भनेको छ ।

प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।