काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नका लागि नेताहरु महेश बर्तौला र सुनिता बराललाई अख्तियारी दिएको छ । मंगलबार बसेको एमालेको विघटित संसदीय दलको बैठकले बर्तौला र बराललाई संसद् विघटनविरुद्ध रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यावसायी मुकररलगायतका अधिकार दिएर अख्तियारी दिएको हो ।
‘विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्न एमाले संसदीय दल (असंवैधानीक रुपमा विघटित प्रतिनिधि सभा) को तर्फबाट दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई प्रतिनिधिसभा पुर्नस्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो–जे काम कारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यावसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहनेगरी बैठकले अख्तियारी दिने निर्णय गरेको छ,’– बैठकको निर्णयमा भनिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान र लोकतन्त्रविपरीत रहेको एमालेको ठहर रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभामा क्रियाशील सम्पूर्ण संसदीय दलहरू, राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई असंवैधानिक ढंगबाट गरिएको संसद् विघटनको विरोध गर्न एमालेले आग्रह गरेको छ ।
एमालेले राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रीक प्रणालीको पक्षमा आयोजना गर्ने जनप्रदर्शन लगायतका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी हुने पनि निर्णय गरिएको छ ।




प्रतिक्रिया