अब प्रचण्डसँग सहकार्य सम्भव छैन, ओलीजीसँग चाहिँ चुनावी सहकार्य हुनसक्छः विप्लव


काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनावी सहकार्य नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब प्रचतण्डसँगको एकता पनि नभएको र मोर्चा पनि नरहेको बताएका हुन् । आफूहरुले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीलाई सहयात्रीभन्दा पनि प्रतिस्पर्धीको रुपमा हेरेको उनले बताए ।

‘प्रचण्डसँग चुनावमा सहकार्य हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, ‘तत्काल सम्भव छैन । तत्काल त हाम्रो मोर्चा पनि रहेन, एकता पनि भएन भनेपछि त हामी प्रतिस्पर्धीको रुपमै जान्छौं,’– उनले भने ।

उनले अहिले आफूहरुका केही एजेण्डाहरु एमालेसँग मिल्दै गएको पनि बताए । सर्वपक्षीय अन्तरिम सरकार बनाएर जेन–जीको माग सम्बोधन गरिनुपर्ने र स्वाधीनताको सवालमा उभिने कुरा एमालेसँग मिलेको उनले बताए । एमाले निर्वाचनमा जाने निर्णयमा पुग्दाको बखतमा सहकार्यबारे छलफल हुन सक्ने उनले बताए ।

‘केपीजीसँग पनि अहिले बसेर सुव्यवस्थित छलफलहरु त चलिसकेको छैन । उहाँहरु अहिले चुनाव नै हुँदैन, संसद् पुनर्स्थापना भनेर गइराख्नुभएको छ । उहाँहरुसँग दुईवटा कुरा चाहिँ अहिले हाम्रो मिलेको जस्तो भएको छ । एउटा सर्वपक्षीय सम्मेलन अथवा सर्वपक्षीय अन्तरिम सरकार बनाउनुपर्छ र जेन–जीका प्रस्तावहरुलाई सम्बोधन गरेर राज्यलाई पुनर्संरचनामा लैजानुपर्छ भन्ने कुरा मिलेको छ । दोस्रो कुरा राष्ट्रिय स्वाधीनताको विषय निकै गम्भीर बनेको छ र चुनावभन्दा पनि स्वाधीनताको विषय नागरिकहरुलाई बढी खड्किएको छ । त्यसलाई चुनावसम्म लैजानेबारेमा उहाँहरुले अहिले बोलिराख्नु भएको छैन । पछि छलफल हुनसक्छ,’– उनले भने ।