काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुमा एमालेको कुनै पनि संलग्नता नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै भूमिका नरहेको बताएका हुन् । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई जेन–जीले पनि हाम्रो होइन भन्न थालेको उनले टिप्पणी गरे ।
‘जेन–जीले पनि हाम्रो कुरा सुनेन, हाम्रो होइन भन्न थाल्यो अहिले । प्रधानमन्त्री राजनीतिक दलको अनुहार नै हेर्दिनँ भन्नुहुन्छ । यो दलीय व्यवस्था हो कि, निर्दलीय व्यवस्था हो कि गैरदलीय व्यवस्था हो ?’ प्रश्न गर्दै उनले भने ।
उनले वर्तमान विषम परिस्थितिमा जेन–जीका प्रतिनिधिहरुलाई पनि राखेर, सर्वपक्षीय सरकार बनाएरमात्रै चुनाव जान सकिने बताए । संविधानमा अधिकार नै नभएको व्यक्तिले असंवैधानिक तरिकाबाट गरेको प्रतिनिधिसभा विघटन आफूहरुको लागि स्वीकार्य नरहेको उनले बताए । उनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिए । उक्त प्रतिगमन सच्याउन आवश्यक रहेको नेता अधिकारीले बताए ।
‘जेन–जीका प्रतिनिधिसहित नै राखेर, सर्वपक्षीय सरकार बनाएर चुनाव गर्न सकिन्छ । तर, संविधानमा नभएको व्यक्तिले प्रतिनिधिसभा विघटन गराएर, असंवैधानिक काम गरेर, सरकार नै संविधानभन्दा बाहिरबाट बनेर यस्तो गर्न हुँदैन । प्रतिगमनतिर लग्यो, यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो कुरा हो,’– उनले भने ।
उनले अहिलेको सरकारले चुनाव गराउनै नसक्ने बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकार चुनाव गराउनका लागि नबनेको उनको दाबी छ । ‘चुनाव नै हुँदैन । चुनाव हुने गरेर सरकार बनेकै होइन । चुनाव गर्ने सरकार नै होइन यो,’– उनले भने ।




प्रतिक्रिया