देशमा राजनीतिक स्थिरता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक छः कांग्रेस नेता यादव


काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले कुनै पनि राजनीतिक दल निर्वाचनभन्दा पर जान नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा राजनीतिक स्थिरता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

‘यो सरकार आन्दोलनकै माध्यमबाट आएको छ । फागुन २१ गतेको निर्वाचन पनि घोषणा गरेको छ । मलाई लाग्छ अहिलेको अवस्थामा कुनै पनि राजनीतिक पार्टीले निर्वाचनबाट पर जान हुँदैन । निर्वाचनलाई बहिस्कार पनि गर्न हुँदैन,’– उनले भने ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आन्दोलनको माध्यमबाट आएको र यसले निर्वाचन गराउनको लागि वातावरण तयार गर्नुपर्ने बताए । सरकारले केही कार्यक्रम अगाडि बढाए पनि कागजमा मात्रै सीमित रहेको बताए । सरकारले राजनीतिक दलसँग व्यापक छलफल गरेर समस्याको समाधान खोजिनुपर्ने उनले बताए ।

राजनीतिक दलहरुलाई निर्वाचनमा लाने काम सरकारले गर्नुपर्ने बताए । साथै, उनले भदौ २३ र २४ को जेन–जी आन्दोलन तत्कालीन सरकारको गल्तीबाट भएको पनि बताए । प्रतिनिधिसभाले संविधान संशोधनको प्राथमिकता नपाएको,सुशानको प्रत्याभूति नभएको र अनेक समस्या समाधान गर्नेतिर तत्कालीन सरकारले अग्रसरता नलिएको उनले बताए । जेन–जी आन्दोलनमा सरकारको तर्फबाट गोली चलाइनु गलत रहेको उनको भनाइ छ ।