रास्वपाले निर्वाचन सहकार्यको लागि वाग्लेलाई संयोजक तोक्यो, उम्मेद्वार छनोटको संयोजकमा आचार्य



काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनअघि मुद्दागत एवं सांगठनिक सहकार्य गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चुनावलक्षित सहकार्यको लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई निर्देशन दिएको छ । बैठकमा सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारद्वारा प्रतिशोधपूर्ण रुपले लगाइएको मुद्दाको कानुनी अवस्थाबारे पनि चर्चा भएको थियो ।

सह–महामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकेको छ । उक्त समितिको सदस्यमा भने सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहने भनिएको छ । रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने निर्णय भएको छ । यसअघि सो क्षेत्रमा डा. लेखजंग थापा उम्मेद्वारमा सिफारिश भएका थिए ।