नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन बाध्यकारी छ, केन्द्रीय समितिले अस्वीकृत गर्न सक्दैनः कांग्रेस नेता शेर्पा


काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीको १५औं महाधिवेशन पुस मसान्तभित्र भइसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशनको बारेमा छिट्टै टुङ्गो लाग्ने बताएका हुन् । उनले अहिले कांग्रेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग पनि गरिरहेको स्मरण गराए ।

विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन नै गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले बताए । उनले फागुन २१ गतेको चुनाव अगाडि नै कांग्रेसले नयाँ नेतृत्व पाउने उनले बताए ।

अहिले फागुन २१ को चुनाव हु्ने वातावरण पनि बिथोलिइरहेको उनको भनाइ छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले आफ्नो अधिवेशनलाई सकेर समस्याहरुको समाधान खोज्ने कोशिश आफूहरु गर्ने उनले बताए । उनले हिजो सभापति शेरबहादुर देउवासँग आफूहरुको भेटघाट भएको उनले बताए । अहिलेसम्म आफूहरुले गरेको छलफलमा कोही नेताहरु पनि अधिवेशनको खिलाफमा नरहेको उनको बुझाइ छ । अहिले नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन बाध्यकारी रहेको पनि उनले बताए ।

‘अहिले नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन बाध्यकारी छ । त्यो त केन्द्रीय कार्यसमितिले पनि अस्वीकृत गर्न सक्दैन । त्यो विधानको व्यवस्था हो । अधिवेशन त आखिर हुने भयो नि त,’– उनले भने ।

साथै, उनले संसद् पुनर्स्थापना अहिलेको समस्याको समाधान नरहेको बताए । उनले संसद्को राजनीतिक र नैतिक औचित्य सकिएको, त्यसले अब समस्याको समाधान नगर्ने र नयाँ जनादेश आवश्यक रहेको बताए ।