एमाले छाेडेर गएकालाई फर्किन ओलीको आह्वान


काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीले विभिन्न कालखण्डमा विभिन्न कारणले पार्टी छाडेका नेताहरुलाई पुरानै घर फर्किन आह्वान गरेका छन् । आज (शुक्रबार) पार्टीको युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष अ‍ोलीले एमाले देशभक्त, प्रगतिशील, विकास र शान्ति चाहनेहरुको पार्टी रहेको बताउँदै मूल गन्तव्यमा फर्किन आग्रह गरेका हुन् ।

‘विभिन्न कालखण्डमा विभिन्न कारणले पार्टी छोडेर गएका साथीहरु, विभिन्न भ्रमबस कहिले के कारण हुनसक्छ, कहिले व्यक्तित सम्बन्ध, निकटता आदि इत्यादि, भनसुनलाई काट्न नसक्ने, टेलिफोन गरिहाले भनेर यस्ता स–साना कुराहरुमा मूल गन्तव्यमा केन्द्रित नभएर हामी कता–कता लाग्यौं होला । तर, घर फर्कने आह्वान हामीले गरेका छौं । म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु– घर फर्किने आह्वान जारी छ, आउनुस्, एमाले वास्तवमा एमालेको मात्रै घर होइन, सबै देशभक्तहरुको, प्रगतिशीलहरुको, विकास र शान्ति चाहने, सुशासन चाहने जनताको छहारी हो । यसमा आउँ सबै जना म सबैलाई आग्रह गर्न चाहन्छु,’– उनले भने ।

साथै, अध्यक्ष ओलीले एमालेको ११औं महाधिवेशन भव्यताको साथ सम्पन्न हुने पनि बताए । केही मान्छेहरु एमालेको महाधिवेशन भाँड्नेतर्फ लागेको भन्दै उनले आपत्तिसमेत जनाए । उनले भने, ‘अब २२ दिनमा नेकपा (एमाले) का महाधिवेशन हुँदैछ । त्यो महाधिवेशन अत्यन्तै भव्यताको साथ सम्पन्न हुनेछ । म देख्दैछु, सुन्दैछु– त्यसलाई भाँड्नका लागि विभिन्न प्रकारका प्रयासहरु भइरहेका छन् । म सबैलाई भन्न चाहन्छु– त्यसप्रकारका सोच नै नबनाउनुस् । नेकपा (एमाले) का महाधिवेशन भाँड्ने सोच नबनाउनुस् ।’

अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर लैजाने, फराकिलो मन र फराकिलोपनका साथ अगाडि बढ्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रम फिँजाइएको र त्यसको पछाडि कोही पनि नलाग्न आग्रह गरे ।

अध्यक्ष ओलीले अहिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन भएको पनि बताए । असंवैधानिक, गैरकानूनी, अनाधिकृत सिफारिसको आधारमा भएको प्रतिनिधिसभा विघटन आफूहरुका लागि स्वीकार्य नरहेको पनि उनले बताए । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन पनि उनले सबै समक्ष आग्रह गरे ।