प्रचण्डले छलछामको राजनीति गरेको जनार्दन शर्माको आरोप, अन्तिम भेटमा के भनेका थिए ?


काठमाडौं, ६ मंसिर । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई छलछामको राजनीति गरेको आरोप लगाएका छन् । माओवादी छोडेर छुट्टै अभियान घोषणा गरेका जनार्दनले आज काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेका छन् ।

सो भेलालाई सम्बोधन गर्ने क्रममा उनले प्रचण्डकै कारण माओवादी पार्टी विघटन भएको आरोप लगाए । उनले आफूले पार्टी पूनगर्ठनको आवाज उठाउँदा कहिल्यै नसुनिएको भन्दै समयमै आफ्नो आवाज सुनेको भए भदौ २३ गते जेनजी विद्रोहसमेत नहुने दाबी गरे ।

उनले प्रचण्डसँगको अन्तिम भेटमा आफूले आजसम्म तपाईं मेरो नेता भएपनि अब नभएको भनेकोमा बाहिर प्रचण्डले गलत प्रचार गरेको पनि स्मरण गराए । उनले आफूहरुले वामपन्थी पार्टी बनाउने र केन्द्रीय कमिटीसमेत चुस्त बनाउने तयारी गरेको सुनाए ।