सुदन गुरुङबारे एमाले नेता थापाको टिप्पणीः त्यो फटाहा र लठैत हो, जनताले झुण्ड्याउँछन्


काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का नेता सूर्य बहादुर थापा क्षेत्रीले हामी नेपालका संयोजक एवं जेन–जी अगुवा सुदन गुरुङलाई फटाहा र लठैतको संज्ञा दिएका छन् । उनले हामी नेपालका संस्थापक गुरुङ डकैत, लुटपाट र सिंहदरबार जलाउने कार्यमा संलग्न रहेको दाबी गरे ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उनीहरु बालेन भन्ने लुसिफरको आदेशमा कुन–कुन अपराधमा संलग्न छन् भन्ने कुराको फेहरिस्त आफूहरुले तयार पारिसकेको बताए । अब उनीहरुलाई जनताले जनकारबाही गरेर झुण्ड्याउने नेता थापा क्षेत्रीको विश्वास छ ।

साथै, बाराको सिमरास्थित एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर सुदनले अराजक गतिविधि गरेको पनि नेता थापा क्षेत्रीले बताए । त्यो बेला एमाले नेता श्रेष्ठ घरमा नभएकाले मात्रै गुरुङ अचार हुनबाट जोगिएको नेता थापा क्षेत्रीले टिप्पणी गरे । उनले गुरुङलाई पटाहा, लठैत, डकैत र गैरजेन–जीको संज्ञा दिए ।

‘त्यो सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने एमालेले दुई दिन पर्खिन पर्छ भनेको ? किसान श्रेष्ठ नभएको बेलामा पारेछ र किसान श्रेष्ठको घरमा गएछ । किसान श्रेष्ठ भएको भए अचार हुन्थ्यो, सुदन गुरुङ चाहिँ अचार बन्थ्यो । त्यो त गैरजेन–जी फटाहा हो, लठैत हो । डकैत हो, लुटपाटहरुमा संलग्न मान्छे हो । सुदन गुरुङहरु सिंहदरबार जलाउन, यो बालेन भन्ने लु्सिफरको आदेशमा कहाँ–कहाँ के–के अपराधमा संलग्न छ ? यसको सबै सबै फेहरिस्त बनिसकेको छ । अब जनताले झुण्ड्याउँछन् । यी अपराधीलाई जनकारबाही हुन्छ,’– नेता बस्नेतले भने ।

साथै, उनले एमालेले बदलाको राजनीति गर्न नचाहेको पनि बताए । बदलाको राजनीति गर्ने हो भने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, हामी नेपालका संस्थापक गुरुङ लगायतको घर नजोगिने उनको भनाइ छ । उनले भने, ‘एमालेले बदलाको राजनीति गर्ने भएत अहिले बालेन शाहको घर जोगिइरहन्थ्यो ? सुदन गुरुङका घर जोगिइरहन्थे ? उसका कहाँ– कहाँ के–के छन् भन्ने एमाले पंक्तिलाई थाहा छैन र ? एमाले आगजनीको बदला आगजनी गर्दैन ।’