काठमाडौं, ७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेन–जी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतनालाई खोलिदिएको बताएका छन् । पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि नेपाली राजनीतिले पुस्तौं पुस्तालाई नसमेटेको र समावेश नगरेको अवस्थालाई भदौ २३ र २४ को जेन–जी आन्दोलनले उजगार गरेको बताएका हुन् ।
‘लामो समयदेखि नेपाली राजनीतिले युस्तौपुस्तालाई समेटेको थिएन, समावेश गरेको थिएन । तर, यो पुस्ताले विद्रोह गर्यो । सबै राजनीतिक दलहरुलाई सोच्न बाध्य बनायो । नीति, विचार, कार्यक्रमहरुको बारेमा सोच्न बाध्य बनायो । यही क्रममा अहिले पनि केही पार्टीभित्र थोरबहुत बहस भएको हामी सुन्न सक्छौं । तर, समग्रतामा आजको नेपाली समाजअनुसारको जुन तहको पार्टी बन्नुपर्ने हो, पार्टी बनाउने कुरामा कोही पनि लागेको देखिँदैन,’– उनले भने ।
आफ्नो पार्टीले समावेशी, सामूहिक नेतृत्वको विकास गरेको, सामुहिकतामा मिलेर, जनतालाई केन्द्रमा राखेर सहभागिता मुलुक समाजवादतर्फ लाने आन्दोलनको घोषणा गर्न गइरहेको बताए । उनले आज नेपाल सामुहिक असफलतातर्फ बढिरहेको बताए । नेपाली राज्य प्रत्येक नागरिकको लागि बनाउने दिनको रुपमा मंसिर ७ गतेलाई लिएको उनले बताए ।
स्रोत साधन हुँदा हुँदै पनि नेपालीहरु गरिब भइरहेको, नेपालीलाई धनी बनाउने प्रयास नै नभएको र शासकहरुलाई जनताको जीवन कहिल्यै पनि नदुखेको, देश नदुखेको, आफ्नै संर्कीणताबाट उठ्न नसकेको उनले बताए । अब त्यो दिन आउने र भविष्यमा सुन्दर समाज बनाउन सकिने उनले बताए । सिंगो देशलाई लोकतान्त्रिक बनाउनु अगाडि आफ्नो घर र समाजलाई लोकतान्त्रिक बनाउन आवश्यक रहेको उनले बताए ।




प्रतिक्रिया