काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले भनेका छन्,‘पार्टी पूनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’
उनले आफूले पार्टीका नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने पनि अपेक्षा लिएका छन् । उनले ओलीलाई अब अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि अनुरोध गरेका छन् ।
उनले विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने र गरिने बताएका छन् । पार्टीको आसन्न ११औं महाधिवशेनको सन्दर्भमा आज एक विज्ञप्ती जारी गर्दै उनले भण्डारीको पार्टी सदस्यताको विषयमा पनि बोलेका हुन् ।
उनले भनेका छन्–‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको विषय हो । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरुप्रति प्रतिवद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रुपले थप सशक्त, सांगठनिक ढंगले अझ एकतावद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’




प्रतिक्रिया