देउवाको नेतृत्वमा निर्वाचनमा जान सकिँदैन, विशेष महाधिवेशन अपरिहार्य छः कांग्रेस नेता घिमिरे (भिडिओसहित)


काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीलाई उचाइमा पुर्याउनका लागि आफूहरुले विशेष महाधिवेशनको प्रस्ताव अगाडि बढाएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु कहिले पनि पार्टी फुटको पक्षमा नरहेको बताएका हुन् । उनले विशेष महाधिवेशन फुटको विषय नभएर पार्टीलाई एकतावद्ध कसरी बनाउने, एक ढिक्का कसरी बनाउने, नयाँ परिस्थितिमा पार्टीलाई कसरी सम्हाल्ने र आउने चुनौतीहरुसँग जुद्न सक्ने पार्टी बनाउने विषय रहेको बताए ।

उनले २०७९ मा संसद्मा पहिलो भएको कांग्रेसले मुलुकको जिम्मेवारी लिन नसकेको, दलबाट प्रधानमन्त्री बन्न नसकेको, पार्टीको प्रभावकारिता नबढेको बताए । उनले आफूहरुको माग विशेष महाधिवेशन रहेको बताए । उनले आफूहरुलाई पार्टीले कहिल्यै पनि अवसर नदिएको र नसम्झिएको उनले बताए । आफू पार्टीभित्र राउटेको हैसियतमा रहेको बताए । अब सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा जान नसक्ने उनको भनाइ छ ।

‘विशेष महाधिवेशन हामीलाई चाहियो । उहाँहरुले चार वर्षभित्र पार्टीको १५औं महाधिवेशनको तयारी गर्नुभएन । तयारी थाल्नु पनि भएन । त्यसमा तदारुकता देखाउनु भएन । उदासिनता देखाउनुभयो । जेन–जी आन्दोलनपछि पनि हामीले भन्यौं– अब नेतृत्व बदल्नुपर्ने भयो । मौजुदा नेतृत्वलाई लिएर हामी चुनावमा जान सक्दैनौं । संसद्को पहिला पार्टी भएर पनि मुलुकको नेतृत्व किन गर्न सकेन ? उहाँहरुसित जवाफ छ ?’ प्रश्न गर्दै उनले भने ।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखेर निवेदन दिएकोमा त्यसको बारेमा पार्टी केन्द्रीय समितिमा छलफल नै गरिएको, उल्टै पार्टी फुटाउन लागेको आरोप लगाएको र आफूहरुलाई विभाजनकारीको संज्ञा दिएको नेता घिमिरेले बताए ।