देउवाले व्यावहारिक रुपमा कार्यवाहक खोसिसक्नुभयोः कांग्रेस नेता शिबाकोटी (भिडिओसहित)


काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिबाकोटीले विशेष महाधिवेशनको लागि दवाब दिनका लागि आज संस्थापन इत्तर समूहले भेला आयोजना गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको विधानबमोजिम नै आफूहरुले विशेष महाधिवेशनको माग गरेको बताएका हुन् । विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

‘यो विशेष महाधिवेशनको माग विभाजन गर्नका लागि गरिएकै होइन । विशेष महाधिवेशन विधानमा भएको व्यवस्थाअनुसार कतिपय विषयमा विशेष निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय समितिले कहिलेकाहीँ त्यसमा विचार पुर्याउन नसकेको ठान्यो भने महाधिवेशन प्रतिनिधिहरुले यो अधिकार प्रयोग गर्न खोज्दै गर्दा त्यसलाई खराब देख्न्ु दृष्टिदोष हुन्छ,’– उनले भने ।

कांग्रेसको तर्फबाट निर्वाचन प्रयोजनका लागि सभापति शेरबहादुर देउवाले आफ्नै हस्ताक्षर पठाइसकेपछि उनले दिएको कार्यवाहक देखावटी रहेछ भन्ने पुष्टि भएको बताए । देखावटी कुरामा विश्वास गर्ने अवस्था नरहेको उनले बताए । पार्टी सभापति देउवा उपचारपछि सिंगापुरबाट फर्किएपछि औपचारिक रुपमा नभए पनि व्यवहारिक रुपमा उनले कार्यवाहक फिर्ता लिइसकेको नेता शिवाकोटीले बताए । ‘उहाँले आफ्नै हस्ताक्षरमा दल दर्ता गर्न गइसकेपछि यो उहाँको कार्यवाहक पनि फिर्ता भएको रुपमा बुझिने अवस्था छ,’– नेता शिवाकोटीले भने ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि देउवाले विश्वास गर्न नसकेको उनले बताए । देउवाले विगतमा भएका अभ्यासहरुलाई पनि खण्डित गरेर कार्यवाहक सभापति खड्कामाथि अविश्वास गरेको उनले बताए ।