काठमाडौं, १० मंसिर । नेपाल शिक्षक महासंघका पदाधिकारीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर आफूहरुको मागबारे ध्यानाकर्षण गराएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले शिक्षामन्त्री पुनलाई भेटेर सरुवा निर्देशिकाको खारेजी, गत वैशाखमा भएको ९ बुँदे सहमतिको कार्यान्वयन र स्थानीय भत्ताको उपलब्धतालगायतका विषयमा अविलम्ब निकास निकाल्न दवाब दिएको हो ।
केही पालिकाहरूले परिषद् गर्न नसक्दा शिक्षकहरूको तलब भक्ता रोकिएको विषयमा पनि मन्त्री पुनको ध्यानाकर्षण गराइएको छ । परिषद्ले बजेट पास नगर्दा शिक्षकहरूको पनि तलब निकासा रोकिएको अवस्था रहेको छ । महासंघले तलब भत्ता निकासाको लागि पालिका परिषद् जरुरी नहुने गरि नियम बनाउन आग्रहसमेत गरेको छ ।
महासंघले गत चैत र वैशाख महिनामा काठमाडौं केन्द्रीत लामो समय आन्दोलन गरेको थियो । तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले आन्दोलनको दवाब थेग्न नसकेर राजीनामा दिनुपरेको थियो । त्यसपछि शिक्षामन्त्री बनेको रघुजी पन्त र महासंघबीच ९ बुँदे सहमति भएको थियो । जसमा शिक्षा ऐन जारी गर्नेलगायतका विषयहरु समावेश भएका थिए ।




प्रतिक्रिया