हामीले रास्वपासँग निशर्त एकीकरण गर्न लागेका हौं, पदको लोभ छैनः समीक्षा बास्कोटा (भिडिओसहित)


काठमाडौं, ११ मंसिर । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने विषय केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपासँगको एकीकरण वैकल्पिक राजनीतिको आजको आवश्यकता रहेको बताईन् । उनले विवेकशील साझाले विगत एक दशकदेखि वैकल्पिक राजनीतिको बाटो खनेको बताईन् ।

जेन–जी आन्दोलनपछि पुराना दलहरुमाथि मात्रै नभएर वैकल्पिक राजनीति गर्छु भन्नेहरुमाथि पनि ठूलो प्रश्न चिन्ह खडा भएको उनले बताईन् । उनले अहिले पुरानाविरुद्ध नयाँको लडाइँ सुरु भएको बताईन् । यो लडाइँमा नयाँ दलहरु एक साथ आएर काम नगरेको खण्डमा जेन–जी आन्दोलनको औचित्य स्थापित गर्न नसकिने अवस्था रहेको उनले बताईन् ।

उनले रास्वपा र विवेकशील साझाबीचको एजेण्डा पनि मिल्ने बताईन् । उनले रास्वपासँग निशर्त एकीकरण हुने बताईन् । वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा ल्याएर ध्रुविकृत गराउनु आजको आवश्यकता रहेको उनको भनाइ छ । रास्वपासँगको लामो संवादपछि एकीकरणको निर्णयमा पुगिएको उनले बताईन् ।

विवेकशील साझाले यो देशमा कांग्रेस, एमाले र माओवादीको पनि विकल्प हुन्छ भन्ने देखाउने काम गरेको उनको भनाइ छ । पार्टी एकीकरणको बारेमा रास्वपा सभापति रवि लामिछानेलाई भेटेर नै पार्टी एकताबारे छलफल गरेको उनको भनाइ छ । उनले राजनीतिमा नागरिकका मुद्दाले प्राथमिकता पाए कि पाएनन् भन्ने कुराले प्राथमिकता पाउनुपर्ने बताईन् ।

विवेकशील साझाले सुरु गरेको वैकल्पिक राजनीतिको लिगेसीमा रास्वपाले २१ सिट जितेर सरकारमा पुगेको अध्यक्ष बास्कोटाको दाबी छ । ‘हामीले १० वर्षदेखि समाजलाई ढक्ढक्याउँदै थियो, त्यो ढक्ढक्याइले २१ सिट पुग्यो । अब विवेकशील साझा एउटा दलसित एकीकृत भएर अब यो देशको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’ प्रश्न गर्दै उनले भनिन् ।