कुलमानदेखि बालेनसम्मलाई भित्र्याउने दाउमा रास्वपा


काठमाडौं, ११ मंसिर । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले वैकल्पिक राजनीतिलाई मूलधारको राजनीति बनाएर डेलिभरीका मुद्दाहरुलाई सम्बोधन गर्नका लागि वैकल्पिक शक्तिहरुबीच कुनै न कुनै बहानामा सहकार्य, ध्रुबीकरण र एकतासम्मको प्रयास हुनुपर्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि एकीकरण र एकताको प्रयास हुने बताएकी हुन् । उनले आगामी फागुन २१ गते निर्वाचन हुने र सरकारले निर्वाचनको लागि ६० प्रतिशत काम गरिसकेको आफूले पाएको बताईन् ।

उनले रास्वपामा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायत एकीकृत हुने सम्भावना रहेको बताईन् । तर, रास्वपामा आउने दुर्गा प्रसाईँको भने सम्भावना नरहेको उनको भनाइ छ । को–को आउन सक्छन्, कुलमान घिसिङ, बालेन शाह ? भन्ने प्रश्नमा उनले भनिन्, ‘सम्भावना देख्छु म उहाँहरुको पनि ।’

उनले रास्वपामा पद नपाएर आफूले झगडा गर्ने वातावरण नबन्ने पनि बताईन् । उनले विवेकशील साझा पार्टीले एकीकरणको घोषणा गरेपछि आफूले देशको लागि गर्ने सेवा रास्वपाबाट गर्ने बताईन् ।

वर्तमान सरकारको सबैभन्दा महत्वपूर्ण म्याण्डेट निर्वाचन रहेको र प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा चुनाव हुने उनले बताईन् ।