सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको केपी ओलीको दाबी, संसद् पूनःस्थापना हुने दाबी


काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण गरिएको हिजोको कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताएका हुन् ।
उहाँले अध्यक्षका हैसियतमा आफ्नो प्रयास सहमति, एकता, रुपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे ।

‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’, अध्यक्ष ओलीले भने– चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टिकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।

पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत निर्मित भएको र सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गरे । जनताबाट निर्वाचितहरू सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरू सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत हुन नसक्ने बताउँदै उनले यो सरकार संविधान विपरीत छ र विघटित संसद् पुनःस्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्न सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गरे । अध्यक्ष ओलीले संविधान र जनमतको सम्मानका पक्षमा पार्टी अडिग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।