महाधिवेशन विवाद मिलाउन देउवालाई नै सास्ती


काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएर सिंगापुर उपचारमा गएर फर्किएको पनि १७ दिन बितिसकेको छ । तर, १५औं महाधिवेशनको विवाद कायमै छ ।

१५औं महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि कि पछि भन्ने विषयमा कांग्रेसभित्र अहिले विवाद कायमै छ । संस्थापन पक्षले चुनावअघि कुनैपनि हालतमा महाधिवेशन गर्न नहुने अडान राखेको छ भने संस्थापनइतरले चुनावअघि नै महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर मैदानमा उत्रिनुपर्ने अडान राखेको छ ।

जेन–जी आन्दोलनपछि पार्टीभित्र पूनर्गठनको आवाज चर्को रुपमा उठेको छ । महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले यो मुद्दा प्रभावकारी रुपमा उठाएका छन् । उनीहरुको आह्वानमा विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतले हस्ताक्षर गरेर पार्टीलाई बुझाएका छन् ।

तर, संस्थापन पक्षले हस्ताक्षर अभियानको सुरु हुँदाखेरि नै यसको विरोध गरेर हस्ताक्षर फिर्ता लिन दबाब दिएको छ । केन्द्रीय समितिको बैठक यही विवादको कारण स्थगन् हुँदै आजसम्म धकेलिएको छ । आज दिउँसो २ बजे बैठक बस्ने भनिएको छ । त्यसअघि देउवाकै उपस्थितिमा नेताहरु अहिले छलफलमा जुटेका छन् ।

देउवा १८ दिन सिंगापुर बसेर कार्तिक २८ गते स्वदेश फर्किएका हुन् । फर्किएकै रातिदेखि उनी आफूनिकट नेताहरुसँग पार्टीको विवाद समाधान गर्ने विषयमा छलफलमा जुटेका थिए । पछिल्लो समय उनले नेताहरुसँग महाधिवेशनको विवाद मिलाउन नसकेको भनेर आक्रोश पोख्ने गरेका छन् ।

उनले आफूले कार्यवाहकको जिम्मा दिएर उपचार गराउन गएको र अब भावी सभापतिको पनि दाबेदार नभएकोले यो विवाद पदाधिकारीमा भएका साथीहरुले मिलाउनुपर्ने थियो भन्ने मत राखेका छन् । उनले आफूनिकट नेताहरुसँग विवाद मिलाउन आफूलाई सुम्पिएकोमा दिग्दारी मान्ने गरेका छन् ।

हिजो अवेरसम्म भएको अनौपचारिक तथा औपचारिक छलफलमा पुस मसान्तभित्रै महाधिवेशन गर्नेगरि कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार रहेको बताईएको छ । तर, संस्थापनभित्रै केही प्रभावशाली नेताहरुले उक्त कार्यतालिका नमान्ने भनेर अडान राखेको बताईन्छ ।