जी.पी. कोइराला मेमोरियल क्याम्पसका प्रमुख अधिकारी र संयोजक बोहोराबाट महिला प्राध्यापकमाथि दुर्व्यवहार, बाटो छेकेर बस्नेदेखि गाली बेइज्जतीपूर्ण हर्कत


काठमाडौं, १६ मंसिर । नेपाली राजनीतिका शिखर पुरुष तथा लोकतन्त्रका नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सम्मान तथा सम्झनामा स्थापित जी.पी.कोइराला मेमोरियल कलेजका प्रमुख शिवप्रसाद अधिकारी र डबल बहादुर (डिबी) बोहोराले कलेजमा अध्यापन गराउने महिला प्राध्यापकमाथि दुर्व्यवहार गर्ने गरेको तथ्य बाहिरिएको छ । चाबहिलस्थित सिफलमा रहेको उक्त क्याम्पसका प्रमुख अधिकारी र संयोजक बोहोराले विभिन्न हर्कत गर्ने गरेको एक प्राध्यापकले रिपोर्टर्स नेपाललाई बताए । क्याम्पस प्रमुख अधिकारी र बोहोराले महिला प्राध्यापकलाई कक्षाकोठामा प्रवेश गर्न नदिइ बाटो छेकेर अवरोध गरेको, उनीहरुको यस्तो प्रकारको हर्कतको विरोध गर्दा गाली बेइज्जती गरेको र अन्य महिला प्राध्यापकहरु पनि क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोराबाट प्रताडित हुनुपरेको ती प्राध्यापकको आरोप छ ।

‘जहिले पनि महिला प्राध्यापकहरुलाई डोमिनेट गर्नुहुन्छ । उहाँहरु आफू आएर पढाउँदा पनि पढाउनुहुन्न । महिला प्राध्यापकको कक्षा अनुगमनको लागि तल्लो तहका प्रशासनका कर्मचारीलाई पठाएर हिनताबोध गराउनुहुन्छ । महिला प्राध्यापक कक्षामा पढाउन जाँदा क्याम्पस प्रमुख शिव प्रसाद अधिकारी र संयोजक डिबी बोहोराले बाटो छेक्ने, विभिन्न दुःख हैरानी दिने काम गर्नुहुन्छ,’- नाम उल्लेख नगर्ने शर्तमा रिपोर्टर्स नेपालसँग ती प्राध्यापकले भने ।

त्यतिमात्रै नभएर महिला प्राध्यापकलाई दुर्व्यवहार गर्ने प्राध्यापक केशव नारायण श्रेष्ठलाई समेत क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोराको मिलेमतोमा उन्मुक्ति दिने काम भएको बताइएको छ । क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोराको नियत नै गलत भएकाले त्यस्तै प्रकारका हर्कत गर्नेलाई समेत उनीहरुले संरक्षण गर्ने गरेको बताइएको छ । अहिले विगत लामो समयदेखि अध्यापन गराइरहेका महिला प्राध्यापकहरुलाई योजना बनाएर हटाउने षड्यन्त्रमा क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोरा लागिपरेको समेत आरोप छ ।

क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोराले षड्यन्त्र गरेर महिला प्राध्यापकहरुलाई हटाउने नियत राखी शिक्षण तालिका हेरफेर गरेको, विगतका वर्षमा अध्यापन गराइरहेको कक्षामा पढाउनबाट बन्चित गरेको, अघिल्लो वर्षहरुमा पढाइरहेको कक्षा दिन सकिँदैन, नभए जागिर छाड्नुस् सम्म भनेर मानसिक रुपमा प्रताडित गराएका छन् ।

त्यतिमात्रै नभएर जी.पी कोइराला मेमोरियल कलेजको व्यवस्थापनले प्राध्यापकहरुलाई त्रिभुवन विश्वविद्यालयले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिने गरेको पाइएको छ । त्यस्तै, त्रिविको विधानविपरीत हुनेगरी तोकिएको शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई समेत भनसुन, नातावाद र कृपावादको आधारमा क्याम्पस प्रमुख अधिकारी र संयोजक बोहोराले नियुक्ति दिलाउने गरेको बताइएको छ ।

जी.पी कोइराला मेमोरियल कलेजको हिसाब किताबसमेत पारदर्शी नरहेको पाइएको छ । संस्थापक क्याम्पस प्रमुख खिलानाथ सापकोटाको कार्यकालदेखि नै क्याम्पसको हिसाब फर्छ्यौट भएको छैन । स्थापना कालदेखि नै क्याम्पसको अध्यक्ष नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान रहेका छन् । स्रोतले बताएअनुसार अहिले २ करोड ८६ लाखभन्दा बढी सो कलेजको बेरुजु रहेको छ ।

सो क्याम्पसका व्यवस्थापकहरुले हालसम्म सक्षम महिला प्राध्यापकहरुलाई प्रशासनिक निकायमा नियुक्ति र जिम्मेवारीबाट बन्चित गराएको समेत बताइएको छ । हाल कुनै पनि प्रशासनिक निकायमा महिला प्राध्यापकहरुलाई नियुक्ति र जिम्मेवारी नदिइएको, महिलाहरुको समानुपातिक प्रतिनिधित्व नगराएको भनी बेलाबेलामा महिला प्राध्यापकहरुले व्यवस्थापनको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् । तर,उनीहरुको माग सुनुवाइ हुनुको सट्टा उल्टै लैङ्गिक हिंसाबाट प्रताडित हुनुपरेको ती प्राध्यापकले बताए ।