काठमाडौं, १८ मंसिर । उज्यालो नेपाल पार्टीका नेता जीतराम लामाले आफ्नो दलको नेता अहिलेका उर्जामन्त्री कुलमान घिसिङ नै भएको स्पष्ट पारेका छन् । उनले यो पार्टी कुलमानकै अगुवाईमा खोलिएको बताए । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रम पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो पार्टीको नेता कुलमान घिसिङ नै हो । उहाँको अगुवाईमा नै सुरु भएको पार्टी हो । हाम्रो पार्टीले एक व्यक्ति, एक पदको नीति अंगिकार गरेको छ । अहिले सरकारमा भएको हुनाले उहाँ पार्टीमा हुनुहुन्छ, उहाँ सरकार छोडेको दिनमा उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ ।’ उनले जेनजी आन्दोलनलाई ऐतिहासिक विद्रोहको संज्ञा दिए । उनले यो विद्रोह व्यवस्था परिवर्तनको लागि नभएर अवस्था परिवर्तनको लागि भएको जिकिर गरे ।
उनले कुलमानले पार्टीको नेतृत्व लिनको लागि मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको भएपनि प्रधानमन्त्री सुशीला कार्की, जेनजी आन्दोलनका अगुवा र काठमाडौं महानगरको टिमले राजीनामा नदिन भनेकोले सरकारी जिम्मेवारीमा बसेको खुलाए । उनले कुलमानले अब चुनावमा उम्मेद्वारी दिनुभन्दा केही दिनअघि मात्रै राजीनामा दिने बताए । कुलमान काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी भएको पनि उनको भनाई छ ।




प्रतिक्रिया