निर्वाचन क्षेत्र फेर्ने मेरो कुनै योजना छैन, अघिल्लो निर्वाचनमा रास्वपाले सहयोग गरेको भन्ने कुरा शतप्रतिशत गलत हो : गगन थापा


काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा आफू काठमाडौं–४ बाट नै चुनाव लड्ने बताएका छन् । हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार निमेष बञ्जाडेसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

पत्रकार निमेषले गगन थापा कहाँबाट चुनाव लड्ने भनेर सोधेका थिए । जवाफमा थापाले भने,‘मेरो त आफ्नो निर्वाचन क्षेत्र छ, अहिलेसम्म जुन निर्वाचन क्षेत्रमा म यत्रो समय, तीन पटक म यहाँ लगातार निर्वाचन लडें, यहीँका साथीहरुले मलाई निर्वाचित गराउनुभयो, अगाडिका निर्वाचनहरु पनि मेरा लागि सजिलो थिएनन्, तर यहाँका मतदाताहरुको मैले यहीखालको स्नेह पाईराखें, मेरो निर्वाचन क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ हो । म जन्मिएको यहीँ हो, मेरो घरै यहीँ हो, मेरो कर्मक्षेत्र पनि यहीँ हो । निर्वाचन क्षेत्रको हिसाबले पनि यही हो । मेरो निर्वाचन क्षेत्र फेर्ने कुनैपनि योजना छैन । म जुन निर्वाचन क्षेत्रमा छु, म यहीँबाट प्रतिष्पर्धा गर्छु ।’

“अब चुनाव जित्न त, पहिला त गगन थापालाई रास्वपाले सहयोग गर्यो अब रास्वपासँग सम्बन्ध तिक्त छ, अब गार्हो पर्ने हो कि भन्छन् नि ?” भनेर पत्रकारले राखेको अर्को प्रश्नमा थापाले अघिल्लो निर्वाचनमा रास्वपाले आफूलाई सहयोग गरेको भन्ने कुरा शतप्रतिशत गलत भएको दाबी गरे ।

उनले भने,‘त्यो एकदमै रंग, हण्ड्रेड पर्सेन्ट रंग हो, यो त तथ्यहीन, संगिन आरोप हो । म अघिल्लो निर्वाचन पनि एकदमै गार्हो इलेक्सन लडेको हो, रास्वपाको उम्मेद्वार हुनुहुन्थ्यो, उहाँले आफैंले उम्मेद्वारी फिर्ता लिनुभयो, ०७४ मा पनि च्यालेञ्ज थियो ।’ थापाले ०७९ को निर्वाचनमा एउटै निर्वाचन क्षेत्रमा लड्नुहुँदैन भन्ने विचारले काम गरेको र सर्लाही जान चाहेको र आफ्नो क्षेत्रमा नयाँ मान्छे ल्याउन चाहेको स्विकारे ।