काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थलमा तयारी थालिएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफल रहेको चौरको पार्टीका उपमहासचिव एवं महाधिवेशन जनपरिचालन समितिका संयोजक प्रदीप ज्ञवाली नेतृत्वको टोलीद्वारा अनुगमन एवं निरीक्षण गरेको छ ।
उपमहासचिव ज्ञवाली, स्थायी कमिटी सदस्य, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य विनाद श्रेष्ठ, नेकपा (एमाले) भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बाग्मती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङ्गलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेको एमालेले जनाएको छ । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख मानिस अट्न सक्ने क्षमता रहेको र उक्त चौर भरिभराउ हुने बताए ।
उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिँदै महाधिवशनका लागि गठन भएका विभिन्न समितिले तीब्ररूपमा काम गरिरहेकोे जानकारी दिए । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आजको अनुगमन एवं निरीक्षणबाट मञ्च कहाँ बनाउने, कताबाट प्रवेश गर्नेलगायतका बिभिन्न संरचनाहरू कसरी बनाउने भन्नेबारेमा निष्कर्षमा पुगिएको बताए ।
यस्तै, भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले महाधिवेशनको उद्घाटन भक्तपुरमा हुनु भक्तपुर जिल्लाकै लागि गौरवको विषय भएको भन्दै उद्घाटन सत्रलाई नमूना र भव्य बनाउन भक्तपुरले कुनै कसर बाँकी नराख्ने बताए । उपाध्यक्ष किरण थापाले आजैबाट डोजर लगाएर कार्यक्रमस्थलमा काम सुरु गरिएको र चौरको पूर्वतर्फ मञ्च व्यवस्थापन गरिने, शौचालयदेखि आवश्यक पूर्वाधारहरू तयार गरिने बताए ।
उद्घाटनका दिन पूर्वबाट आउने सवरी साधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारी साधनलाई गठ्ठाघरदेखि कमेरोटार क्षेत्रमा पार्किङ व्यवस्थापन मिलाईने र ती स्थानबाट र्यालीसहित कार्यक्रमस्थलमा प्रवेशको व्यवस्था गरिने भएको छ ।




प्रतिक्रिया