काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ्ले पार्टीको ११औं महाधिवेशनको तयारीको विषयमा लफडा भएको भन्नु गलत हुने स्पष्ट पारेका छन् । महाधिवेशन प्रतिनिधि छनोटमा केही ठाउँमा विवाद भएकोले संगठन विभागले त्यहीअनुसार सर्कुलेशन भएको उनको भनाई छ ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले महाधिवेशनको उम्मेद्वारी दिने दिनसम्म पुग्दा अध्यक्षमा केपी शर्मा ओलीमात्रै उम्मेद्वार हुनसक्ने दाबी गरे । उनले भने,‘अहिले हामीले यो महाधिवेशनलाई एकताको महाधिवेशन गरेर जाने भनेका छौं, अध्यक्ष केपी ओलीकै अगुवाईमा एमाले अघि बढ्छ । आम कार्यकर्ता र नेपाली जनताको पनि यही चाहना छ । त्यसो हुँदा अन्तिसम्ममा इश्वर पोखरेलले छोड्नुहुन्छ र केपी ओली सर्वसम्मत् अध्यक्ष बन्नुहुन्छ ।’
पोखरेलले अध्यक्षमा उम्मेद्वारी फिर्ता नलिए अध्यक्षमा प्रतिष्पर्धा हुने उनको भनाई छ । उसो भए केपी ओलीले नेतृत्वमा ईश्वर पोखरेललाई छोड्नुहुन्न ? भनेर सोधेको जिज्ञासमा उनले भने,‘हामीले छोडाउँदैनौं । मुलुकको अहिलेको राष्ट्रिय आवश्यकता हो । यो पार्टीको मात्रै होईन, राष्ट्रिय आवश्यकता हो । केपी ओलीको अगुवाईमा नै नेतृत्व हस्तान्तरण हुन्छ । पुस्तान्तरण हुन्छ ।’




प्रतिक्रिया