देउवा भेट्न ओली महाराजगञ्जमा, जेन–जी आन्दोलनपछिको पहिलो भेट


काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो भेट हो । जेनजी आन्दोलनअघि कांग्रेस र एमालेकै सरकार थियो । सरकारको नेतृत्वमा ओली थिए ।

अहिले एमाले प्रतिनिधिसभा पूनःस्थापनाको रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमालेको तर्फबाट सुनिता बराल र महेश बर्तौलाले दायर गरेको रिटमा १७ मंसिरमा सुनुवाई भएको छ । संवैधानिक इजलासले उक्त रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश दिएको छ । अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने भनिएको छ ।

एमाले यतिवेला ११औं महाधिवेशनको मुखमा छ । अध्यक्षको लागि ओलीले सबै तयारी अघि बढाएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा प्रतिष्पर्धा गर्ने भएका छन् । उता, कांग्रेसले पनि पुष २६ गतेदेखि गर्नेगरि १५औं महाधिवेशन घोषणा गरिसकेको छ । दुवै दल यतिवेला महाधिवेशनको तयारीमा होमिएका छन् । यही सन्दर्भमा दुई नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।