सभापतिमा उम्मेदवारी दिने, चुनाव काठमाडौंबाटै लड्ने : गगन थापा


काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले आज बिहान सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन। “यो पटक पार्टीका साथीहरुले नयाँ नीति, नयाँ सन्देशसँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु,” थापाले भने, “१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो ।”

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने स्थिति बनेको बताउदै महामन्त्री थापाले अबको छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने जनाए । त्यसका लागि पार्टीको महाधिवेशन र निर्वाचनको तयारीसँगसँगै अघि बढाइएको थापाले बताए ।

चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने बताउँदै उनले भने, “नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिवद्ध छौँ । दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संसय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।” कांग्रेस महामन्त्री थापाले आफू यो पटक पनि काठमाडौंबाटै चुनाव लड्ने बताए ।