काठमाडौं, मंसिर २१ । नेकपा (एमाले) का नेता महेश बर्तौलाले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बन्ने दाबी गरेका छन् । समसामयिक राजनीतिक परिस्थितिमा ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढाउन अपरिहार्य रहेकाले महाधिवेशन कार्यतालिका अनुसार मंसिर २७ गते उद्घाटन सत्र हुने र मंसिर २८ गते हुने बन्द सन्त्रपछि पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेलकै प्रस्तावमा ओली पुनः अध्यक्ष बन्ने उनको दाबी रहेको हो ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै नेता बर्तौलाले देशका चुनौतीहरू समाधान गर्न र दिगो स्थायित्वतर्फ लैजान ओलीकै सक्षम नेतृत्वमा पार्टी र देश अगाडि बढ्न अपरिहार्य रहेको बताए ।
उनले भने, ‘देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीनै सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ । मंसिर २८ गते हुने बन्दसत्रपछि पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेलकै प्रस्तावमा ओली पुनः अध्यक्ष बन्नुहुन्छ । महाधिवेशन पार्टीका लागि मात्रै महत्वपूर्ण नभएर यसमा सिङ्गो देशको चासो रहेको छ । अहिलेको परिस्थितिमा महाधिवेशनमार्फत सकारात्मक र एकताको संदेश दिन र पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान क्षमतासहितको नेतृत्वको आवश्यकता रहेको छ । आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष ओलीलाई नै आगामी एक कार्यकाल नेतृत्वमा निरन्तरता दिनुपर्छ ।’




प्रतिक्रिया